रत्न राज्य (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहका सचिव पदका उम्मेदवार दीपक देवकोटामाथि एमालेनिकट अनेरास्ववियुका विद्यार्थीले आक्रमण गरेका छन्। कुटपिटबाट देवकोटा घाइते भएका छन् र उनको उपचार भइरहेको छ।
स्ववियु चुनावमा स्वतन्त्र विद्यार्थी समूहबाट उम्मेदवारी दिएका देवकोटाले उम्मेदवारी दर्ता गर्नु अघि धम्की पाएको खुलासा गरेका छन्। उनले भने, "पहिला उम्मेदवारी नदिन धम्क्याएका थिए, तर आज भलिबल मैदानमा खेल खेले जसरी कुटेका छन्।"
क्याम्पसको सीसीटीभी फुटेजमा आक्रमणको दृश्य कैद भएको छ। घटनापछि स्वतन्त्र विद्यार्थी समूहका सदस्यहरूले आक्रमणको निन्दा गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन्। विद्यार्थी नेता बब्लु गुप्ताले भने, "स्वतन्त्र विद्यार्थीसँग डराएर भौतिक आक्रमण गर्नु कायरता हो। दोषीहरूलाई कारबाही गर्न माग गर्छौं।"
यस घटनाले विद्यार्थी राजनीतिमा हिंसात्मक गतिविधि बढ्दै गएको देखाएको छ। स्वतन्त्र विद्यार्थी समूहले निष्पक्ष चुनावको वातावरण बनाउन प्रशासनसँग हस्तक्षेपको आग्रह गरेको छ।