हेटौंडा उपमहानगरपालिका अन्तर्गतको नगर बाल संजालको पुनर्गठन आज सम्पन्न भएको छ। नयाँ कार्यसमिति गठन प्रक्रियामा पुरानो समितिमा संलग्न बालबालिकाको आवाज नसुनेको आरोपसहित विवाद उत्पन्न भएको छ।
नगरपालिकाको महिला तथा बालबालिका महाशाखा प्रमुख विष्णु कुमारी लामिछानेको नेतृत्वमा भएको समिती पुनर्गठनप्रति नगर बाल संजालकी निवर्तमान अध्यक्ष स्मृति अधिकारीले गम्भीर असन्तोष प्रकट गरेकी छन्। अधिकारीका अनुसार, “पुरानो समितिमा जिम्मेवारीपूर्वक काम गरेका बालबालिकासँग कुनै छलफल नगरिकन, उनीहरूको अनुभव र सुझावलाई बेवास्ता गर्दै एकपक्षीय रुपमा नयाँ समिति गठन गरिएको छ,” भन्ने आरोप लगाइएको छ।
उनले थप भनिन्, “यो प्रक्रिया न्यायपूर्ण छैन। बालबालिकाको सशक्तिकरणको नाममा स्वयम बालबालिकाको मत नसुनिनु आफैंमा विडम्बनापूर्ण छ।”
घटनाले हेटौंडा उपमहानगरमा बाल अधिकार र सहभागिताको सवालमा नयाँ बहसको सिर्जना गरेको छ। बाल सञ्जाल गठनको मूल उद्देश्य नै बालबालिकाको नेतृत्व विकास र सहभागिता सुनिश्चित गर्नु हो भन्ने सन्देश दिंदै, यस प्रकारको कार्यशैलीप्रति स्थानीय स्तरमा चासो र प्रश्नहरू उठ्न थालेका छन्।
यसबारे महिला तथा बालबालिका महाशाखाको तर्फबाट औपचारिक प्रतिक्रिया भने प्राप्त हुन बाँकी छ।