अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ। सिरिजअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो। नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनायो। आरिफ शेखले सर्वाधिक ३३ रन बनाए भने आसिफ शेखले २९, कुशल भुर्तेलले २७ र लोकेश बमले अविजित २५ रन जोडे। नेपालले अतिरिक्तमार्फत ३२ रन पनि पाएको थियो। जवाफमा होबार्ट हरिकेन्स १६.१ ओभरमा ११४ रनमै समेटियो। नेपालका नन्दन यादवले घातक बलिङ गर्दै ३ ओभरमा १७ रन खर्चिएर ५ विकेट लिए। कप्तान रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप लामिछाने र रिजन ढकालले १–१ विकेट लिए। होबार्टका ब्राड होपले ३१ रन बनाए भने चार्ली वाकिमले २८ र जेन कर्टेनले अविजित २० रन बनाए। यसअघि नेपालले तीनै खेलमा पराजय भोगेको थियो। अब नेपालले मेलबर्न रेनेगेड्ससँग भोलि र पाकिस्तान शाहीन्ससँग शुक्रबार खेल्नेछ।