नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा आन्तरिक गुटबन्दीका कारण युवा सङ्घका कार्यकर्ताबीच झडप भएको छ। झडपमा एमाले गण्डकी प्रदेशका सदस्य अर्जुन निर्जन पौडेल र युवा सङ्घका नेता धु्रव श्रेष्ठ घाइते भएका छन्। पौडेलको पर्वतस्थित शान्तिदीप अस्पतालमा उपचार भइरहेको छ। पार्टीभित्रको गणेश तिमिल्सिना र पदम गिरी पक्षबीचको विवाद चुलिँदा झडप भएको हो। गिरी समूहले आज अधिवेशन आह्वान गरेको थियो, तर तिमिल्सिना पक्षले समय सार्न माग गरेको थियो।
गिरी पक्षका युवाहरूले अधिवेशनको उद्घाटन गरेपछि तिमिल्सिना पक्षका कार्यकर्ताहरूले विरोध जनाएका थिए, जसका कारण स्थिति तनावपूर्ण बन्दै झडपमा परिणत भएको हो। यस घटनाले एमालेभित्रको गुटबन्दी र आन्तरिक असन्तुलन अझै चर्किएको स्पष्ट देखिएको छ। नेतृत्व तहबाट हस्तक्षेप नभए यस्ता झडपहरू अझ दोहोरिन सक्ने चिन्ता स्थानीय नेताहरूले व्यक्त गरेका छन्। पार्टीले तत्काल स्थिति नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको बताइएको छ।