बाराको जितपुर–सिमरामा तोकिएको समयभन्दा अबेरसम्म महोत्सव सञ्चालन गरेपछि प्रहरी नायव उपरिक्षक (डीएसपी) शुभद्रा वाइबाले कडा हस्तक्षेप गरेकी छन्। प्रशासनले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मात्र अनुमति दिएको भए पनि आयोजकले राति ९ बजेसम्म टिकट बिक्री गर्दै कार्यक्रम सञ्चालन गरिरहेका थिए।
भोजपुरी गायक सुनील पण्डितले प्रस्तुति दिइरहँदा डीएसपी वाइबा स्टेजमा चढिन् र माइक नियन्त्रणमा लिँदै कार्यक्रम रोकिदिइन्। माइकको लाइन काटिएको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
डीएसपी वाइबाले शान्ति सुरक्षामा चुनौती देखिएपछि कार्यक्रम बन्द गर्नुपरेको बताएकी छन्। आयोजकले भने एक घण्टा थप अनुमति लिएर कार्यक्रम साँझ ७ बजेसम्म चलाएको दाबी गरेका छन्।
हाल तराईका विभिन्न जिल्लामा भइरहेका महोत्सवहरूमा भिडभाड र झडपका घटना बढिरहेका सन्दर्भमा डीएसपीको तत्कालीन निर्णयको सर्वत्र प्रशंसा भइरहेको छ।