Breaking news

अनुदान कटौतीविरुद्ध काठमाडौंमा उखु किसानको आन्दोलन, माग पूरा नभएसम्म नछाड्ने चेतावनी

सरकारले उखुमा दिँदै आएको अनुदान रकम घटाएपछि तराई–मधेशका उखु किसानहरूले काठमाडौंमा विरोध प्रदर्शन थालेका छन्। उखु उत्पादक महासंघको नेतृत्वमा करिब ५०० किसान गौशालाबाट नारा–जुलुससहित माइतीघर मण्डलातर्फ अघि बढेका हुन्। किसानहरूको भनाइमा सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ दिने अनुदान यस वर्ष आधा घटाएर ३५ रुपैयाँमा झारेको छ, जुन अन्यायपूर्ण निर्णय भएको उनीहरूको दाबी छ। महासंघका संयोजक श्यामबाबु रायले भने, “सरकार आफैंले तय गरेको भाउ काट्नु किसानको अपमान हो। हामी मरेका छैनौं, माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ।” किसानहरूले चिनी मिलबाट उखुको मूल्य भुक्तानी पाइसके पनि सरकारी अनुदान नपाउँदा आर्थिक बोझ व्यहोर्नुपरेको बताउँछन्। सरकारले स्रोत अभाव देखाउँदै अनुदान घटाएको हो। महासंघले हाल चार दिने आन्दोलन कार्यक्रम घोषणा गरेको छ। रायका अनुसार माग आजै पूरा भए आन्दोलन फिर्ता लिन तयार छन्, तर बेवास्ता गरे अर्को चरणको संघर्ष घोषणा हुनेछ। आन्दोलनमा सर्लाही, रौतहट, महोत्तरी, बारा, पर्सा, सिराहा, नवलपरासी लगायत स्थानका किसानको सहभागिता छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?