Breaking news

हेटौंडामा दोस्रो उपकुलपति कप ७ ए साइड महिला फुटबल सुरु

हेटौंडामा आइतबारबाट दोस्रो संस्करणको उपकुलपति कप ७ ए साइड महिला फुटबल प्रतियोगिता सुरु भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत वन संकायको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन विश्वविद्यालयकी उपकुलपति प्रा. डा. शारदा थपलियाले गर्नुभयो।

हेटौंडा–५ स्थित पिप्ले-क्याम्पा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक वनविज्ञान संकाय हेटौंडाले प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पस बर्दिवासलाई ५–० गोलको फराकिलो अन्तरले हराउँदै शानदार जीत दर्ता गर्यो। दोस्रो हाफमा प्रतीज्ञा सुनारले ह्याट्रिक पूरा गरिन् भने निहारिका राई र कृष्टिना ठकुरीले समान १-१ गोल गरे।

दोस्रो खेलमा प्राकृतिक स्रोत व्यवस्थापन पाख्रिबास धनकुटाले टिकापुरलाई २–० गोलले हरायो। पाख्रिबास धनकुटाका लागि पूजा दहालले २ गोल गर्दै प्लेयर अफ द म्याच घोषित भइन्। सोमबार तीन खेल हुँदैछन्।

नकआउट प्रणालीमा भइरहेको प्रतियोगितामा ९ वटा महिला टिम सहभागी छन्। विजेताले ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार रुपैयाँ जित्नेछ। प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *