दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट आज सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सार्वजनिक गरिएको छ। युवा तथा खेलकुदमन्त्री तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष तेजुलाल चौधरीले लोगो सार्वजनिक गरे भने उपाध्यक्ष ध्रुव आचार्यले मस्कट अनावरण गरे। सदस्य–सचिव टङ्कलाल घिसिङले राष्ट्रिय खेलकुदको विशेष वेभसाइटसमेत सार्वजनिक गरे।
लोगोमा कर्णाली नदी, नेपालको झण्डा, सात प्रदेश, खेलाडी, हिमाल, पहाड, तराई र शान्तिको प्रतीक परेवा समेटिएको छ। मस्कटका रूपमा कर्णाली प्रदेशमा पाइने दुर्लभ जनावर हाब्रे (रेड पाण्डा) चयन गरिएको छ।
मन्त्री चौधरीले राष्ट्रिय खेलकुदलाई भव्य बनाउन सबै एकजुट हुनुपर्ने बताए। उपाध्यक्ष आचार्यले खेलाडीको प्रतिभा पहिचान गर्न खेलकुद महत्त्वपूर्ण रहेको उल्लेख गरे। दशौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म सुर्खेतमा आयोजना हुनेछ।