प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङ हटाइएको विषयमा जवाफ दिन आवश्यक नभएको बताएका छन्। राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित भेलामा उनले सरकारले एक कर्मचारी हटाउँदा केहीले छाति पिटेर रोएको टिप्पणी गरे। उनले एकलाई हटाएर अर्को नियुक्त गर्नु स्वाभाविक प्रक्रिया भएको बताए।
प्रधानमन्त्री ओलीले सरकार कसैलाई खुशी पार्न होइन, नीति अनुसार काम गर्न दायित्वबद्ध रहेको जिकिर गरे। उनले विपक्षी दलहरूले सदन अवरोध गरेर अध्यादेश रोक्न खोजेको आरोप लगाए।
ओलीले जथाभावी नबोल्न विपक्षीलाई चेतावनी दिँदै हल्का र उत्ताउलो व्यवहार नगर्न सुझाव दिए। साथै, जनताले लडेर ल्याएको अधिकार कसैले खोस्न नसक्ने बताए। एमाले अध्यक्षको रूपमा उनले युवा सङ्घलाई प्रतिगामी शक्तिहरूसँग सशक्त प्रतिवाद गर्न निर्देशन दिए।