हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ९० करोड रुपैयाँको बजेट पारित गरिएको छ। शुक्रबार बिहान ८ बजेका लागि आव्हान गरिएको नगरसभा ढिलो गरी ११ बजेपछि सुरु भई करिब एक घण्टामा सम्पन्न भएको थियो।
नगरपालिकाको असार १० गते सम्पन्न नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम तथा बजेट शुक्रबारको नगरसभाबाट अनुमोदन गरिएको हो। यद्यपि, निर्धारित समयभन्दा तीन घण्टा ढिलो नगरसभा सुरु भएकोप्रति वडाध्यक्षहरूले असन्तुष्टि जनाएका छन्।
१६ नम्बर वडाध्यक्ष रामकृष्ण कोइरालाले तोकिएको समयमा नगरसभा सुरु नभएकाले आफू उपस्थित नभएको बताउनुभयो। “समयमै बैठक नबोलाइने हो भने सहभागी हुन कुनै औचित्य हुँदैन,” उहाँले प्रतिक्रिया दिनुभयो।
यसअघि असार १० गतेको नगरसभामा वडाध्यक्षहरूले बजेटको मस्यौदा किताब तयार पार्नुपर्ने माग राखेका थिए। त्यसकै आधारमा शुक्रबारको नगरसभामा बजेटको मस्यौदा वितरण गरिएको थियो। नगर कार्यपालिकाका अनुसार बजेट तथा कार्यक्रम कम्प्युटर प्रणालीमा दर्ता गर्नुपर्ने प्रक्रिया भएकाले अन्तिम पुस्तिका त्यसपछि मात्र तयार पारिने जनाइएको छ।