नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीको लम्किचुहा नगरपालिका–४, बलियास्थित पाँचतले घरमा चोरी भएको छ। मन्त्री काठमाडौमा रहँदा कैलालीस्थित उनको घरमा सुन, चाँदीका गरगहना र नगदसमेत चोरी भएको हो।
तीन महिनादेखि खाली रहेको घरमा बुधबार दिउँसो पौने ४ बजेतिर चोरी भएको खबर प्रहरीले पाएको हो। यद्यपि, चोरीको ठ्याक्कै मिति भने यकिन हुन सकेको छैन। प्रहरीले प्रारम्भिक अनुसन्धानमा घरको दोस्रो तलाको ग्रिल निकालेर चोर घरभित्र पसेको पत्ता लगाएको छ।
परिवारका अनुसार चोरले सुनका औंठी, सिक्री, चाँदीका सामग्रीहरू र करिब ६५ हजार रुपैयाँ नगद चोरी गरेका छन्। चोर झ्यालको गृह खोलेर पसेको देखिएको छ। अहिले घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाले मन्त्रीस्तरीय व्यक्तिको घरसमेत असुरक्षित रहेको सन्देश दिएको छ।