कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा गएको पहिरोले कर्णाली राजमार्ग भदौ १४ गतेदेखि पूर्णरूपमा अवरुद्ध भएको छ। तीन दिन बितिसक्दा पनि ठूला ढुंगा हटाउन नसकिएकाले सडक अझै खुल्न सकेको छैन। ढुंगा फुटाउन ब्रेकर प्रयोग असफल भएपछि अब ब्लास्टिङ गर्ने तयारी भइरहेको छ। सडक अवरुद्ध हुँदा जुम्लाबाट स्याउ बोकेर गएका २० वटा ट्रक बाटोमै अलपत्र परेका छन्। नाग्म प्रहरी चौकीका अनुसार ती ट्रकहरूमा करीब ७०९ क्विन्टल स्याउ लोड गरिएको छ। निर्यात सिजनमा सडक अबरुद्ध हुँदा करोडौं मूल्यको स्याउ कुहिने जोखिम देखिएको व्यापारी हरिसिंह नेपालीले जानकारी दिए। “४ हजार किलो स्याउ लिएको छु, किसानलाई पैसा दिन बाँकी छ, सडक नखुले कुहिएर नोक्सानी बेहोर्नु पर्नेछ,” उनले भने। स्याउ सङ्कलन, प्याकिङ र ढुवानीको सबै प्रक्रिया ठप्प हुँदा किसान र व्यापारी दुबै मारमा परेका छन्। यो अवस्थाले स्थानीय अर्थतन्त्रमा ठूलो असर पार्ने सम्भावना देखिएको छ। सम्बन्धित निकायले सडक यथाशिघ्र खुलाउने पहल गर्नुपर्ने माग बढेको छ।