Breaking news

जनप्रतिनिधि सडकमा, प्रशासन कानमा तेल हालेर बस्यो

हेटौंडा, मकवानपुर |
हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरू जिल्ला प्रशासन कार्यालय मकवानपुर परिसरमा धर्ना बसेका छन्। शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकाय तथा प्रशासन असफल भएको भन्दै उनीहरूले कालो ब्यानरसहित आन्दोलन थालेका हुन्।

हेटौंडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइरालाका अनुसार, उपमहानगर प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष सविन न्यौपानेमाथि भएको सांघातिक आक्रमणको घटनालाई प्रशासनले बेवास्ता गरेपछि जनप्रतिनिधि आन्दोलनमा उत्रन बाध्य भएका हुन्।

“जनप्रतिनिधिको सुरक्षाको विषयमा प्रशासन गम्भीर नभएपछि हामी जनताकै हितमा आन्दोलनमा उत्रिएका हौं,” उनले भने। उनका अनुसार प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको आरोप छ।

धर्ना कार्यक्रमको क्रममा जनप्रतिनिधिहरूले कार्यालयभित्रै टेबुल राखेर जनताको काम पनि सुरु गरेका थिए। प्रशासनले टेबुल लैजान रोक लगाएपछि सुरक्षा कर्मी र जनप्रतिनिधिबीच विवाद समेत भएको थियो। तर हेटौंडा–८ का वडाध्यक्ष राम थापाले टेबुल राख्दै धर्ना अघि बढाएका थिए।

धर्ना कार्यक्रममा सहभागी हुनेमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष र सदस्यहरू थिए। सहभागी वडाध्यक्षहरूमा सविन न्यौपाने (वडा १), विष्णुगोपाल महर्जन (वडा २), ढलक थापा (वडा ३), विष्णुबहादुर दाहाल (वडा ६), विजय पौडेल (वडा ६ सदस्य), दामोदर गौतम (वडा ७), राम थापा (वडा ८), सुकराम के.सी (वडा ९), अर्जुन तिवारी (वडा १२), रामकृष्ण कोइराला (वडा १६) र उद्धव सत्याल (वडा १७) रहेका छन्।

यसबीच, धर्ना कार्यक्रममा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू भने उपस्थित रहेका थिएनन्। केही महिना अघि प्रजिअ स्किम श्रेष्ठविरुद्ध भएको आन्दोलनमा ‘एमाले सिडिओ फिर्ता जा’ जस्ता नारावाजी भएको कारण एमालेका प्रतिनिधिहरूले सहभागिता जनाएनन् भन्ने टिप्पणीहरू सार्वजनिक भएका छन्।

जनप्रतिनिधिहरूले प्रशासनको भूमिकाप्रति गम्भीर प्रश्न उठाउँदै जनताको सुरक्षाका लागि तुरुन्त कदम चाल्न माग गरेका छन्। उनीहरूले प्रशासन मौन बसे जनप्रतिनिधि आन्दोलित भइरहने चेतावनी समेत दिएका छन्।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *