प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि वैशाख २८ गते राष्ट्रिय सभामा जवाफ दिने भएका छन्। हाल राष्ट्रिय सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहेको छ। सङ्घीय संसद् सचिवालयका अनुसार सोही छलफलको क्रममा प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १:१५ बजे राष्ट्रिय सभामा मन्तव्य दिँदै जवाफ प्रस्तुत गर्ने कार्यक्रम तय भएको हो।
सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले बैठकसम्बन्धी जानकारी दिँदै प्रधानमन्त्रीको जवाफ कार्यक्रम तय भएको पुष्टि गरेका हुन्। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि विभिन्न दलका सांसदहरूले उठाएका जिज्ञासामाथि प्रधानमन्त्रीले प्रतिउत्तर दिने अपेक्षा गरिएको छ। नीति तथा कार्यक्रमले समेटेका प्राथमिकता, विकास योजना, सामाजिक सुरक्षा, तथा संघीयताको कार्यान्वयन जस्ता विषयमा प्रधानमन्त्रीको धारणा सार्वजनिक हुने संसद् स्रोतको भनाइ छ।