बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया आज काठमाडौं आइपुगेकी छन्। त्रिभुवन विमानस्थलमा उनीलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरुले स्वागत गरे। एयरपोर्टबाट उनलाई लैनचौरस्थित बेलायती दूतावास पुर्याइएको छ।
राजकुमार एडवार्ड केही समयपछि काठमाडौंमा अवतरण हुनेछन् र दुवैजना दिउँसो पौने ४ बजे शीतल निवास प्रस्थान गर्नेछन्। त्यहाँ उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नेछन्, र पुनः लैनचौर फर्कनेछन्।
६ दिनसम्म नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फर्किने कार्यक्रम छ। नेपाल बसाइँको क्रममा, उनीहरू पोखरास्थित ब्रिटिश गोर्खा क्याम्पमा पनि जाने छन्। त्यहाँ उनीहरूले हालै बेलायती सेनामा छनोट भएका नेपाली जवानहरूको ब्याज वितरण परेडमा सहभागी हुनेछन्। यस दिन नवनियुक्त जवानहरूलाई बेलायती सेनामा भर्ना भएको चिन्ह लगाइन्छ।
निजी भ्रमणको क्रममा, सोफीले नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण हिमश्रृंखला नियाल्ने तालिका पनि राखेकी छन्। सोफी, संयुक्त राष्ट्रसंघको महिला, शान्ति र सुरक्षा एजेन्डाकी च्याम्पियन भएकी छन् र उनले विभिन्न संस्थाहरूसँग मानव बेचबिखन र लैगिक हिंसाका पीडितहरूको सहयोगका लागि छलफल गर्ने कार्यक्रम राखेकी छिन्।
यो भ्रमणले बेलायत र नेपालबीचको घनिष्ठ सम्बन्धलाई अझ प्रगाढ बनाउने लक्ष्य राखेको छ।