हेटौँडा अस्पतालको बोर्ड मेटाएको अभियोगमा पक्राउ परेका ६ जना शुक्रबार थुनामुक्त भएका छन्। पक्राउ पर्नेमा हेटौँडा–५ का विशालराज महत, हेटौँडा–४ का सुनिल गिरी, हेटौँडा–६ का सफल अधिकारी, मकवानपुरगढी–५ का राजकुमार घिमिरे, अस्मित अधिकारी र समुन्द्र दाहाल छन्। मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको आदेशमा उनीहरूलाई जनही १ हजार रुपैयाँ जरिवाना तिराई थुनामुक्त गर्न भनिए पनि, एक रात हिरासतमा बसेको आधारमा जरिवाना घटाएर जनही ७ सय रुपैयाँ तिराइएको प्रहरीले जानकारी दिएको छ।
गत आइतबार बिहान साढे १० बजे हेटौँडा अस्पतालको बोर्डबाट “मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान” भन्ने नाम मेटाई “हेटौँडा अस्पताल” लेखिएको फ्लेक्स टाँसिएको थियो। उक्त कामलाई सरकारी सम्पत्तिमा बलजफती गरिएको आपराधिक कार्य मानेर प्रहरीले अनुसन्धान थालेको थियो। घटनामा संलग्न व्यक्तिहरू बिहीबार आफैं प्रहरी सम्पर्कमा आएका थिए।
हेटौँडा अस्पताल अघिल्लो संरचनामा जिल्ला अस्पतालको रूपमा सञ्चालनमा थियो। संघीयता कार्यान्वयनसँगै यसलाई बागमती प्रदेश सरकार अन्तर्गतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत राखिएको थियो। प्रतिष्ठानमार्फत अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्ने योजना बनाइएको छ। यद्यपि, यस विरुद्धमा विभिन्न राजनीतिक दल, भातृ संगठन तथा स्थानीय समूहहरूले समय–समयमा विरोध जनाउँदै आएका छन्। उनीहरूको माग हो— हेटौँडा अस्पताल र प्रतिष्ठानलाई अलग राखिनुपर्छयसै सन्दर्भमा भएको बोर्ड मेट्ने घटनाले सरकारी निर्णय र जनभावनाबीचको द्वन्द्वलाई फेरि सतहमा ल्याएको छ।