काठमाडौं – फिफा विश्वकप विजेता तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने जियानलुजी बफोन नेपाल आउने भएका छन्। इटलीका पूर्वकप्तान बफोन केपी ओली कप फुटबल प्रतियोगिताको विशेष अवसरमा नेपाल आउन लागेका हुन्।
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले बफोन नेपाल आउने पक्का भइसकेको पुष्टि गरेका छन्। केपी ओली कपको तेस्रो संस्करण यही फागुन ११ देखि १९ गतेसम्म आयोजना हुँदैछ, जसको फाइनल खेलका लागि बफोन काठमाडौं आउने छन्।
यसअघि ब्राजिलका फुटबल स्टारहरू रोनाल्डिन्हो र रोबर्टो कार्लोसलाई ल्याउने प्रयास गरिए पनि असफल भएपछि बफोनलाई निम्त्याइएको राष्ट्रिय युवा संघ नेपालका सचिव निरोज पौडेलले जानकारी दिए। संघका अध्यक्ष थेवेका अनुसार बफोनलाई नेपाल ल्याउनका लागि औपचारिक सम्झौता भइसकेको छ।
बफोन नेपाल आएका खण्डमा उनी यहाँ आउने विश्व फुटबलकै ठूला खेलाडीमध्ये एक हुनेछन्। सन् २००६ मा विश्वकप जितेका बफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन्, जसमा ८० खेलमा उनले इटलीको कप्तानी गरेका थिए।
केपी ओली कपमा दुई विदेशी टोलीसहित विभिन्न ९ टोलीले प्रतिस्पर्धा गर्नेछन्। क्वार्टरफाइनलसम्मका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ भने सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा सम्पन्न हुनेछ।