काठमाडौं विश्वको दोस्रो प्रदूषित शहर, पोखरामा पनि उच्च वायु प्रदूषण

काठमाडौं विश्वको दोस्रो प्रदूषित शहर बनेको छ। विश्वभरका मुख्य क्षेत्रहरूको वायु स्वच्छता मापन गर्ने आईक्यू एअरका अनुसार काठमाडौंको वायु प्रदूषण स्तर १९६ एक्यूआई पुगेको छ, जुन अस्वस्थ श्रेणीमा पर्दछ। पहिलो स्थानमा भने पाकिस्तानको कराची २१५ एक्यूआईसहित छ।

नेपालभित्र पनि वायु प्रदूषणको अवस्था गम्भीर देखिएको छ। पोखराको वायु प्रदूषण लगातार दोस्रो दिन पनि उच्च रहँदै १९० एक्यूआई पुगेको छ, जसले शहरलाई रेड जोनमा पुर्‍याएको छ। वातावरण विभागका अनुसार पोखरापछि काठमाडौंको शंखपार्क १८२ एक्यूआईसहित दोस्रो र भरतपुर तेस्रो स्थानमा रहेको छ। भक्तपुर (१६९), धनगढी (१६७), रत्नपार्क (१६३), हेटौंडा (१५९) र खुमल्टार (१५९) को एक्यूआई पनि उच्च मापन गरिएको छ।

५० एक्यूआईभन्दा माथिको प्रदूषण सूचकांकलाई अस्वस्थ मानिन्छ भने १५१-२०० बीचको एक्यूआई अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि खतरनाक मानिन्छ। वातावरण विभागले मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने चेतावनी दिँदै विशेष गरी बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वास तथा मुटुका बिरामी र गर्भवती महिलाहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

उच्च वायु प्रदूषणले जनजीवनमा नकारात्मक असर पार्दै गर्दा मास्कको प्रयोग, घरभित्रै बस्नेजस्ता सुरक्षात्मक उपाय अपनाउन विज्ञहरूले सुझाव दिएका छन्। यसले दीर्घकालीन रूपमा स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्न आवश्यक देखिएको छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?