हेटौंडामा टोनी हेगन स्मृति पार्कमा अर्धकद शालिक अनावरण

हेटौंडा—१० मा टोनी हेगन स्मृति पार्कभित्र भूगर्भविद् तथा हेटौंडा शहरको परिकल्पनाकार स्वीस नागरिक डा. टोनी हेगनको अर्धकद शालिक अनावरण गरिएको छ। नेपालमा भौगोलिक अध्ययन तथा मानव वस्ती विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका हेगनको सम्मानस्वरूप हेटौंडा उपमहानगरपालिकाले यो पार्क निर्माण गरिरहेको हो। मंगलबार आयोजित विशेष कार्यक्रममा टोनी हेगनकी छोरी डा. क्याट्रिना हेगनको उपस्थितिमा शालिक अनावरण गरिएको थियो।

टोनी हेगन स्मृति पार्क हेटौंडा-१०, टिसिएनस्थित नेत्रज्योति टोलको एक बिगाहा चार कठ्ठा साढे सत्र धुर क्षेत्रफलमा फैलिएको छ। गुरुयोजना अनुरूप पार्कको निर्माण कार्य अघि बढिरहेको छ। स्मृति पार्क विकास मञ्चका अध्यक्ष ईन्द्रप्रसाद नेपालका अनुसार डा. क्याट्रिना हेगन नेपाल आएको अवसर पारेर शालिक अनावरण गरिएको हो। कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामा, पूर्वमेयर हरिबहादुर महत, स्थानीय जनप्रतिनिधिहरू, नागरिक समाजका अगुवा तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

हेटौंडाकै प्रसिद्ध मूर्तिकार लक्ष्मण भुजेलले टोनी हेगनको अर्धकद शालिक ६ लाख रुपैयाँ लागतमा निर्माण गरेका हुन्। यस पार्क निर्माणका लागि हालसम्म २ करोड ९ लाख ८१ हजार रुपैयाँ खर्च भइसकेको छ। पार्क निर्माणमा हेटौंडा उपमहानगरपालिका, वडा नं. १० कार्यालय, बागमती प्रदेश सरकार मातहतका मन्त्रालयहरू, संघीय संसदको सांसद विकास कोष, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डप्रदेश सरकार मातहतको डिभिजन वन कार्यालयको बजेट परिचालित गरिएको छ।

टोनी हेगनको योगदान हेटौंडा मात्र नभई नेपालकै भौगोलिक अनुसन्धान तथा पूर्वाधार विकासका लागि अविस्मरणीय छ। उनले नेपालमा विशेष गरी भूगर्भ विज्ञान, प्राकृतिक स्रोत साधन तथा मानव वस्ती विकाससम्बन्धी गहन अध्ययन गरेका थिए। हेटौंडाको भूगोललाई उनले बसोबासका लागि उपयुक्त मानेर नै व्यवस्थित सहरको परिकल्पना गरेका थिए। यस कारण, हेटौंडावासीका लागि हेगन विशेष सम्मानका पात्र हुन्।

टोनी हेगन स्मृति पार्कको निर्माणले हेटौंडाको ऐतिहासिक तथा पर्यटकीय महत्वलाई अझ उजागर गर्ने विश्वास गरिएको छ। यो पार्क शिक्षा, अनुसन्धान र पर्यटन प्रवर्द्धनका लागि उपयोगी स्थल बन्न सक्छ। भविष्यमा यहाँ टोनी हेगनको योगदानलाई उजागर गर्ने संग्रहालय, सूचना केन्द्र तथा मनोरञ्जनात्मक पूर्वाधारहरू थपिने अपेक्षा गरिएको छ।

स्थानीय, प्रदेश तथा संघीय सरकारको लगानीमा निर्माणाधीन यो पार्क हेटौंडाको आकर्षण बन्दै गएको छ। हेटौंडाको ऐतिहासिक मूल्य तथा पहिचानलाई स्थापित गर्न यो पार्क मीलका पत्थर सावित हुन सक्छ। टोनी हेगनको योगदानको सम्मानस्वरूप हेटौंडामा स्मारक स्थापना हुनु हेटौंडावासीका लागि गौरवको विषय हो

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?