हेटौंडा उपमहानगरपालिकाले शिक्षा क्षेत्रमा ऐतिहासिक कदम चालेको छ। उपमहानगरले पहिलो पटक सामुदायिक विद्यालयलाई विद्यालय बस हस्तान्तरण गरेको छ। हेटौंडा–६ बारूतेमा अवस्थित श्रीकृष्ण आधारभूत विद्यालयले सो बस प्राप्त गरेको हो।
एक औपचारिक समारोहबीच उपमहानगरपालिकाका कार्यवाहक प्रमुख राजेश बानियाँबाट विद्यालयलाई बस हस्तान्तरण गरिएको हो। उक्त अवसरमा बोल्दै प्रमुख अतिथि बानियाँले सामुदायिक विद्यालयमा विद्यार्थीको पहुँच अभिवृद्धि तथा गुणस्तरीय शिक्षाको लागि यो कदम महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन
उनले दोस्रो चरणमा हेटौंडा–९ स्थित प्रगति माविलाई बस हस्तान्तरण गरिने जानकारी दिएका छन ।
समारोहमा, विद्यालयकी प्रधानाध्यापक मन्दिरा घिमिरे, सहायक प्रधानाध्यापक दीपककुमार थापा, पत्रकार रूपेश दुलाल, विद्यालय व्यवस्थापन समिति सदस्य, शिक्षक, विद्यार्थी तथा अभिभावकको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालय बस खरिदको लागि उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा रु. २६ लाख ५० हजारको बजेट विनियोजन गरेको जानकारी गराइएको छ।