सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएको छ। अदालतको आदेशअनुसार, लामिछानेलाई बहस नसकिएको कारण ११ बजे थुनछेक बहसका लागि उपस्थित गराउने गरी सुरक्षाकर्मीको जिम्मा दिइएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय पठाइएको छ।
साहरा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा भएको ठगी प्रकरणमा रवि लामिछानेसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। उक्त मुद्दामा ३८ करोड ९ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको हो। मंगलबारदेखि मुद्दामा बहस सुरु भएको छ र बुधबार चितवन जिल्ला अदालतमा चार जनाले बहस गरेका छन्। सरकारी वकिलका तर्फबाट रवि न्यौपाने, अमृत सुवेदी, र बुद्धबहादुर थापाले बहस गरेका छन् भने जाहेरवाला तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरे।
भोलि सरकारी वकिलको तर्फबाट ३ जना थपिने र रवि लामिछानेको तर्फबाट १० जनाले बहस गर्ने बताइएको छ। यस प्रकरणमा न्यायिक प्रक्रिया जारी रहेको छ।