वंशगोपाल बहुमुखी क्याम्पस, हेटौंडा-६ चौघडामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नयाँ समिति सर्वसम्मत रूपमा चयन भएको छ। आइतबार बिहान विभिन्न विद्यार्थी संगठनहरूबीचको सहमति पछि समिति चयन गरिएको हो।
नयाँ समितिमा अनेरास्ववियुका दिवस सिलवाल अध्यक्ष चयन भएका छन्। उपाध्यक्षमा राप्रविसकी सजना घिमिरे, सचिवमा अनेरास्ववियुका सुवास राई, कोषाध्यक्षमा अखिल क्रान्तिकारीका आशाराम गोले, सहसचिवमा नेवि संघका आशिष भोलन निर्वाचित भएका छन्। सदस्यहरूमा आयुषा बुढाथोकी (क्रान्तिकारी), निश्चल गजुरेल (अनेरास्ववियु), सन्तोष पुडासैनी (अनेरास्ववियु), पूजा लम्साल (अनेरास्ववियु), सुष्मा गौतम (अनेरास्ववियु) र सुशील तिमल्सिना (अनेरास्ववियु) चयन भएका छन्।
क्याम्पस प्रमुख लक्ष्मण कँडेलका अनुसार, क्याम्पस सञ्चालक समितिका अध्यक्ष उज्वल चौलागाईंको अध्यक्षतामा बसेको बैठकले नयाँ समिति चयन गरेको हो। त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालन हुँदै आएको क्याम्पसमा हाल २११ विद्यार्थी अध्ययनरत छन् भने स्ववियु निर्वाचनका लागि १४७ मतदाता रहेको जानकारी छ।
यसअघि मकवानपुरकै मनहरी बहुमुखी क्याम्पसमा पनि स्वतन्त्र विद्यार्थी युनियनको समिति सर्वसम्मत रूपमा चयन गरिएको थियो।