हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसमा चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अध्यक्ष पदका लागि तीन जना उम्मेदवारको टक्कर हुनेछ। अध्यक्ष पदमा अभि मैनाली (अनेरास्ववियु), दीपक वाईबा (अखिल क्रान्तिकारी) र युवराज विक (नेविसंघ) प्रतिस्पर्धामा छन्। मैनाली हालका स्ववियु अध्यक्ष समेत हुन्, जसले पुनः नेतृत्व दावी गर्दै अनेरास्ववियुको तर्फबाट उम्मेदवारी दिएका छन्।
यसपटक तीन वटै संगठनले प्यानलसहित उम्मेदवारी दिएका छन्। मैनालीको प्यानलमा सचिव पदमा गणेश तिमल्सिना र कोषाध्यक्षमा रञ्जिता फूयाँल छन्। त्यस्तै, वाईबाको प्यानलमा सचिव इश्वर ढुंगेल र कोषाध्यक्ष प्राश्ना दोङ रहेका छन् भने विकको प्यानलमा सचिव पदमा रानी विक र कोषाध्यक्षमा सुरज बोलखेको उम्मेदवारी परेको छ।
निर्वाचनमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् भने ७ जना समानुपातिक प्रणालीमार्फत चयन गरिनेछन्। हेटौंडा क्याम्पसमा स्नातक तहमा वाणिज्य, मानविकी, र शिक्षाशास्त्र संकायमा पढाइ हुन्छ भने स्नातकोत्तर तहमा शिक्षाशास्त्र संकाय मात्र उपलब्ध छ। क्याम्पसका सहायक प्रमुख तथा निर्वाचन समितिका सदस्य सचिव मनोज पोखरेलका अनुसार स्ववियु निर्वाचनका लागि कुल ६८५ जना मतदाता छन्।
हेटौंडामा विद्यार्थी राजनीति सधैं चासोको विषय बनिरहन्छ। विभिन्न दलका युवा संगठनहरूबीच प्रतिस्पर्धा रहँदा नेतृत्वका लागि संघर्ष रोचक देखिन्छ। हेटौंडामा विद्यार्थी राजनीति प्रभावशाली हुने भएकाले यसपटकको निर्वाचनको नतिजाले आगामी राजनीतिक धारणा निर्माणमा असर पार्न सक्ने देखिन्छ।