मकवानपुर, वैशाख १३ – नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाइले छात्रवृत्तिको वितरणमा भएको अनियमितता विरुद्ध क्याम्पस प्रशासनको कार्यकक्षमा तालाबन्दी गरेको छ।
इकाइ सभापति सागर घिमिरेका अनुसार, वैशाख ७ गते क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाएर समस्या समाधानको आग्रह गरिएको थियो। तर क्याम्पस प्रमुख, सहायक प्रमुख तथा प्राचार्यले कुनै प्रतिक्रिया नजनाएपछि शुक्रबार प्रशासनिक कार्यकक्षहरूमा तालाबन्दी गर्न बाध्य भएको उनले बताए।
उनका अनुसार कक्षा ११ का छात्रवृत्तिमा गम्भीर अनियमितता भएको छ। "अनुत्तीर्ण भएका विद्यार्थीहरूलाई छात्रवृत्ति दिइएको, योग्य विद्यार्थीहरूलाई बेवास्ता गरिएको देखिन्छ," घिमिरेले भने, "हामीले यस्तो गल्ती सच्याउन आग्रह गर्दा पनि प्रशासनले पूर्णरुपमा बेवास्ता गर्यो।"
तालाबन्दीमा स्वतन्त्र विद्यार्थी युनियनका क्याम्पस सचिव उत्सव ढुंगानाको पनि सक्रिय सहभागिता रहेको छ। विद्यार्थी संगठनले प्रशासनलाई जवाफदेही बनाउन थप आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।
विद्यार्थी नेताहरूले शिक्षा जस्तो संवेदनशील क्षेत्रमा हुने अनियमितता भविष्यका पुस्ताका लागि खतरनाक हुने भन्दै यसको प्रतिवादमा चुप बस्न नसकिने बताएका छन्। उनीहरूले क्याम्पस प्रशासनलाई समयमै समस्याको समाधान नगरे अझ कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका छन्।
हाल तालाबन्दीका कारण प्रशासनिक सेवा प्रभावित बनेको छ। छात्रवृत्तिको निष्पक्ष वितरण र पारदर्शिताका लागि विद्यार्थीहरूको माग भने अझै यथावत् छ।