भ्रष्टाचारमा संलग्न बंगलादेशकी क्रिकेटर सोहेली अख्तरलाई पाँच वर्षको प्रतिबन्ध

बंगलादेशकी अन्तर्राष्ट्रिय खेलाडी सोहेली अख्तरलाई आइसिसीको भ्रष्टाचार विरोधी संहिताको पाँचवटा उल्लंघन गरेको स्वीकार गरेपछि पाँच वर्षका लागि सबै प्रकारका क्रिकेटबाट प्रतिबन्धित गरिएको छ। आइसिसीले जारी गरेको प्रतिबन्ध अनुसार अख्तरले २०२३ मा दक्षिण अफ्रिकामा भएको महिला टी-२० विश्वकपमा एक बङ्गलादेशी खेलाडीलाई हिट विकेट आउट हुन १३ हजार पाउन्ड (१६ हजार डलर) को प्रस्ताव गरेकी थिइन्।

नाम नखुलाइएकी खेलाडीले अख्तरको भ्रष्टाचार प्रयासबारे रिपोर्ट गरेपछि अनुसन्धान सुरु भएको थियो। यद्यपि, अख्तर स्वयं उक्त प्रतियोगितामा संलग्न थिइनन्। अनुसन्धानका क्रममा अख्तरले आफ्नो आचरणको अनुसन्धानमा ढिलाइ र बाधा पुर्‍याएको समेत स्वीकार गरेकी छन्।

बंगलादेश क्रिकेट बोर्डका निर्देशक तथा महिला विभाग प्रमुख नजमुल आबेदिन फहिमले अख्तरको कार्यलाई ‘दुर्भाग्यपूर्ण’ भन्दै बंगलादेश क्रिकेटमा फिक्सिङ रोक्न शून्य सहनशीलताको नीति अपनाइएको र सबै तहमा कडा प्रयास भइरहेको बताए।

छत्तीस वर्षीया स्पिनर अख्तरले बङ्गलादेशका लागि १३ टी-२० र दुई एकदिवसीय खेल खेलेकी छन्। उनले सन् २०२२ मा अन्तिम पटक राष्ट्रिय टिमको प्रतिनिधित्व गरेकी थिइन्।

यो घटनाले अन्तर्राष्ट्रिय क्रिकेटमा भ्रष्टाचार र फिक्सिङविरुद्धको आइसिसीको कडा नीतिलाई पुनः पुष्टि गरेको छ। साथै, खेलाडीहरूले इमान्दारी र अनुशासनको उच्च मापदण्ड पालना गर्नुपर्ने सन्देश पनि दिएको छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *