Breaking news

पुष्पकमल दाहालको तस्बिर जलाउने राप्रपा युवा नेता पक्राउ, रिहाइको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव नीराजन बम पताँलालाई चितवन प्रहरीले आइतबार भरतपुर विमानस्थलबाट पक्राउ गरेको छ।

शनिबार हेटौंडामा आयोजित कार्यक्रममा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिर जलाएका थिए। साथै, गणतन्त्रविरोधी नारा लगाउन समेत उक्साएको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई दाहालले "भाइमारा" र "मूर्ति चोर" भन्दै आलोचना गरेपछि राप्रपा आक्रोशित भएको थियो। यसैक्रममा पताँलाले हेटौंडाको कार्यक्रममा दाहालको विरोध गर्दै तस्बिर जलाएका थिए, जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

उनको गिरफ्तारीप्रति राप्रपा नेतृत्वले कडा आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ। राप्रपा महामन्त्री धवल शमशेर राणाले प्रहरीको कारबाहीको निन्दा गर्दै पताँलालाई तत्काल रिहा गर्न आग्रह गरेका छन्। यस घटनाले माओवादी केन्द्र र राप्रपाबीचको राजनीतिक विवादलाई थप चर्काएको छ।

 

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *