फ्रान्सको महिला लिग खेलिरहेकी नेपाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक गर्दै आफ्नो टोली एन अभेन्ट गुइगाम्पलाई सिजनको अन्तिम खेलमा जित दिलाएकी छन्। बुधबार सम्पन्न खेलमा गुइगाम्पले सेन्ट एटिनलाई ३-२ ले पराजित गरेको थियो। खेलमा सेन्ट एटिनले दुई पटक अग्रता बनाए पनि साम्बाले निर्णायक तीन गोल गर्दै टोलीलाई जिताएकी हुन्। उनले खेलको ५७औं, ८५औं र इन्जुरी समयमा ९५औं मिनेटमा गोल गरेकी थिइन्।
साम्बाको उत्कृष्ट प्रदर्शनका बाबजुद गुइगाम्प लिगको अन्त्यमा २२ खेलमा ९ अंक जोड्दै अंक तालिकाको पुछार अर्थात १२औं स्थानमा रहेर सिजन टुंग्याएको छ। फ्रान्सेली लिगमा नेपाली खेलाडीको यस्तो योगदान निकै दुर्लभ मानिन्छ। सावित्राको यो प्रदर्शनले अन्तर्राष्ट्रिय स्तरमा नेपाली महिला फुटबलको क्षमतालाई फेरि एकपटक उजागर गरिदिएको छ। उनका लागि यो ह्याट्रिक फ्रेन्च लिगमा ऐतिहासिक बन्न पुगेको छ।