मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु–नेविसंघ प्यानल विजयी
मकवानपुर बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियु (अखिल) र नेविसंघको संयुक्त प्यानल विजयी भएको छ। २०७९ सालको चुनावमा पराजित भएको अनेरास्ववियुले यस पटक आफ्नो प्रभाव पुनः स्थापित गरेको हो।
अन्तिम मत परिणामअनुसार अनेरास्ववियुका प्रसिद्ध रेग्मी अध्यक्षमा निर्वाचित भएका छन्। उनले अखिल (क्रान्तिकारी)का छोइसाङ लामालाई १९९ मतको अन्तरले पराजित गरे। रेग्मीले ७०६ मत प्राप्त गर्दा, उनका प्रतिस्पर्धी लामाले ५०७ मत पाए। लामा यसअघि स्ववियुका अध्यक्ष थिए।
सचिव पदमा नेविसंघका उत्सव ढुंगाना निर्वाचित भए। उनले ७११ मत प्राप्त गरेर विजयी हुँदा, उनका प्रतिस्पर्धी क्रान्तिकारीका दिपेश कार्की ५४४ मतमा रोकिए।
कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइँटेल निर्वाचित भए। उनले ७०४ मत प्राप्त गरे।
सदस्य पदमा पनि अनेरास्ववियु–नेविसंघ प्यानलकै उम्मेदवारहरू निर्वाचित भएका छन्। निर्वाचित सदस्यहरूमा मनोज घलान, उमेश चौधरी, दिवस चापागाईँ, साजिर अन्सारी, कृसन थिङ, मन्दीप थापा, विवश अर्याल, र अतित अधिकारी छन्।
यो निर्वाचनमा कुल २,६९८ मतदाता रहेकोमा १,२८१ मत खसेको थियो। निर्वाचनको नतिजाले अनेरास्ववियु–नेविसंघ गठबन्धनलाई बलियो बनाएको छ भने क्रान्तिकारी प्यानललाई ठूलो धक्का पुगेको छ।