काठमाडौं प्रहरीले २५ करोड रुपैयाँ बराबरको अमेरिकी डलर तथा यूरोसहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ का कुसाङ लामालाई सार्वजनिक गरेको छ। लामा सोमबार राति टोखाबाट पक्राउ परेका हुन्।
उनले ट्रकको सिटमुनी फल्स बटम बनाएर डलर र यूरो चीन तस्करी गर्ने प्रयास गरेका थिए। प्रहरीले १३ लाख ७५ हजार एक सय ५० यूरो तथा तीन लाख २० हजार ८५० अमेरिकी डलर बरामद गरेको छ।
लामा २०७३ सालमा सुन तस्करीमा पक्राउ परी पाँच वर्ष जेल बसेर छुटेका थिए। उनले सोधपुछमा चिनियाँ नागरिकहरूले आफूलाई डलर र यूरो दिएको बताएका छन्। घटनासँग सम्बन्धित गिरोहमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।