हेटौंडाः हेटौंडा–४,स्थित हेटौंडा क्याम्पसको विविध खेलकुद कार्यक्रम तथा अतिरिक्त क्रियाकलापका विजेताहरुलाई पुरस्कृत गरिएको छ । मंगलबार क्याम्पस परिसरमा एक कार्यक्रमको आयोजना गर्दै क्याम्पसो ३५ औं वार्षिकोत्सवको अवसरमा विविध खेलकुद तथा अतिरिक्त क्रियाकलापका विजेतालाई पुरस्कार प्रदान गरिएको हो । गत फागुन ७ गतेबाट सुरु भएर एक सातासम्म सञ्चालन भइ फागुन १३ गते सम्पन्न भएको प्रतियोगिताका विजेताहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको हो ।
यस्तै, समापन कार्यक्रमकै अवसर पारेर शिक्षक सेवा आयोगबाट लिइएको परीक्षामा प्राथमिक तहतर्फ १ नं. नाम सिफारिसमा पर्न सफल क्याम्पसका छात्रा एलिषा घिमिरेलाई सम्मान गरिएको थियो ।अतिरिक्त क्रियाकला इकाइ समन्वय समितिले वार्षिकोत्सवको अवसरमा एक महिनासम्म आयोजना गरेको भलिबल, फुटबल, दौड, चित्रकला, हाजिरीजवाफ, ब्याडमिण्टन लागयतका प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो । उनीहरुलाई अतिरिक्त क्रियाकलाप विभागका प्रमुख मनोज प्रोखरेलले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यमा तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको सभाध्यक्षमा खेलकुद कार्यक्रम समापन समारोह उद्घाटन भएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै योजना मन्त्री काफ्लेले देशको सम्पूर्ण ठाउँको विकास हुनका लागि शैक्षिक क्षेत्रको विकास हुनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले शैक्षिक क्षेत्रको विकासको कार्यलाई प्राथमिकता दिएको दावी गर्नुभयो । उहाँले आगामी दिनमा सामुदायिक क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिमा थप सहयोगको प्रतिवद्धता व्यक्त गर्नुभयो ।
हेटौंडा क्याम्पस सञ्चालक समितिका अध्यक्ष पराजुलीले हेटौंडा क्याम्पसले मकवानपुरको शैक्षिक क्षेत्रमा उल्लेखनीय योग्दान दिएको धारणा राख्नुभयो । क्याम्पसको लगानीको सन्दर्भमा प्रदेश सरकारले वृद्धि गर्नुपर्ने उहाँको सुझाव थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष एबम सामाजिक बिकास समिती संयोजक रामकृष्ण कोइराला, क्याम्पस व्यवस्थापन समितिका कोषाध्यक्ष नमूना पाण्डे, क्याम्पस प्रमुख बालकृष्ण शर्मा,स्वतन्त्र विद्यार्थी युनियनका सभापति अभि मैनालीलगायतले मन्त्वय व्यक्त गर्नुभएको थियो ।