काठमाडौं – नेपालले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। बिहीबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले लेबनानलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
खेलको ४३औं मिनेटमा नेपाली फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ द्वारा प्रहार गरिएको बल लेबनानकी डिफेन्डरको खुट्टामा लागेर गोलपोस्टभित्र छिरेको थियो। उक्त गोल नै खेलको निर्णायक गोल बन्यो। दोस्रो हाफमा दुबै टोलीबाट थप कुनै गोल हुन सकेन, जसका कारण नेपालले कठिन जित हात पार्यो।
नेपालले यसअघि पहिलो खेलमा किर्गिस्तानलाई पराजित गर्दै ३ अंक जोडेको थियो। लेबनानविरुद्धको जितपछि नेपालले २ खेलमा ६ अंक बनाएको छ र म्यान्मारसँगै फाइनलमा पुगेको छ। त्यस्तै, किर्गिस्तान र लेबनान भने लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन्।
फाइनल खेल अघि, नेपालले फेब्रुअरी २३ मा म्यान्मारसँग प्रतिस्पर्धा गर्नेछ। सोही दिन लेबनान र किर्गिस्तान पनि आमनेसामने हुनेछन्। अब नेपालले उपाधि जित्ने लक्ष्यसहित फाइनल खेल्नेछ।