Breaking news

“स्ववियुलाई विद्यार्थी संसदका रूपमा विकास गर्दै शिक्षाको गुणस्तर वृद्धि गर्ने प्रतिबद्धता” – प्रसिद्ध रेग्मी

मकवानपुर, २०८१ चैत ४, सोमबार

मकवानपुर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै गर्दा अनेरास्ववियु र नेबिसंघको संयुक्त प्यानलबाट अनेरास्ववियुका नेता प्रसिद्ध रेग्मी प्रतिस्पर्धामा छन्। रेग्मीले स्ववियुलाई विद्यार्थी संसद को रूपमा विकास गर्ने लक्ष्य राखेका छन्।

रेग्मीको अनुभव र भूमिकाः

रेग्मी अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष, प्लस टु कमिटी संयोजक, जिल्ला कमिटी सदस्य तथा सहसचिव भइसकेका छन्। अघिल्लो कार्यकालमा उनी स्ववियु सदस्यका रूपमा निर्वाचित थिए।

स्ववियु पुनःस्थापना र अहिलेको गठबन्धन

२०६० सालमा अनेरास्ववियुको नेतृत्वमा नेपाल विद्यार्थी संघ (नेबिसंघ) समेत मिलेर २२ वर्षपछि स्ववियु पुनःस्थापना भएको थियो। त्यतिबेला अनेरास्ववियुका नेता नवीन सिग्देल स्ववियु सभापति निर्वाचित भएका थिए। अहिले पनि यी दुई विद्यार्थी संगठनले गठबन्धन गर्दै रेग्मीलाई साझा उम्मेदवार बनाएका छन्।

"२०६० सालमा स्ववियु पुनःस्थापना गर्दा हामीसँग रहेका साथीहरू अहिले हाम्रो प्रतिस्पर्धामा छन्, जुन सकारात्मक कुरा हो। हाम्रो संगठनसँग स्ववियुको गौरवशाली इतिहास छ। क्याम्पसको विधान निर्माण, पुस्तकालय व्यवस्थापन, छात्रवृत्ति प्रदान गर्ने मापदण्ड तय गर्ने जस्ता महत्वपूर्ण कार्यहरू स्ववियुले नै अगाडि बढाएको थियो। अहिले हामी फेरि एक भएर अगाडि बढ्दैछौँ र जित सुनिश्चित छ," रेग्मीले भने।

स्ववियुलाई विद्यार्थीको सशक्त संगठन बनाउने योजना

रेग्मीले स्ववियुलाई "Student Government / Leadership Development Forum" का रूपमा विकास गर्ने बताएका छन्।

१. छात्रावास व्यवस्थापन

मकवानपुर जिल्ला बाहिरका विद्यार्थीहरूको अध्ययन सहज बनाउन क्याम्पसले छात्रावासको व्यवस्था गर्नुपर्ने उनको धारणा छ।

२. विद्यार्थी र प्रशासनबीचको सेतु बन्ने

कक्षा कोठाभित्रको राजनीतिभन्दा विद्यार्थीका समस्या समाधान र क्याम्पस व्यवस्थापनसँग सहकार्य गर्नु स्ववियुको मुख्य भूमिका हुनुपर्ने रेग्मी बताउँछन्।

३. पुस्तकालय सुधार र डिजिटल प्रविधिको प्रवर्द्धन

विद्यार्थीहरूको अध्ययन सहजीकरणका लागि पुस्तकालयलाई व्यवस्थित गर्दै डिजिटल प्रविधिको उपयोगमा जोड दिने रेग्मीको योजना छ।

४. अनुशासन कायम राख्ने

"मकवानपुर बहुमुखी क्याम्पसलाई बदनाम गराउने विभिन्न चलखेल भइरहेका छन्। यस्ता गतिविधिहरूलाई रोक्न स्ववियु दृढतापूर्वक उभिनेछ," रेग्मीले भने।

५. खेलकुद गतिविधिको प्रवर्द्धन

क्याम्पसमा नियमित खेलकुद कार्यक्रमहरू सञ्चालन गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न पहल गर्ने योजना उनको छ।

६. विद्यार्थीलाई रोजगारमूलक सीपसँग जोड्ने

"बागमती प्रदेश सरकारले युवा सीप वर्ष घोषणा गरेको छ। विद्यार्थीहरूलाई रोजगारमूलक सीपसँग जोड्न हामीले सहजीकरण गर्नेछौँ," उनले भने।

मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने योजना

रेग्मीका अनुसार क्याम्पसलाई विश्वविद्यालय बनाउने विषय दीर्घकालीन योजना हो। "यसका लागि गहिरो अध्ययन, अनुसन्धान र पूर्वाधार विकास आवश्यक छ। हामी तथ्यगत अध्ययन गर्दै सरकार र क्याम्पस प्रशासनलाई आवश्यक सुझाव दिनेछौँ," उनले भने।

स्ववियु निर्वाचन र राजनीति

स्ववियु निर्वाचनले क्याम्पसमा राजनीति बढाएको चर्चा भइरहे पनि रेग्मी यसलाई विद्यार्थी नेतृत्व विकासको अवसरका रूपमा हेर्छन्।

"स्ववियु लोकतान्त्रिक विधिबाट गठन हुने संस्था भएकाले विद्यार्थीहरूका लागि यो नेतृत्व विकासको उत्कृष्ट अवसर हो। मकवानपुर बहुमुखी क्याम्पसबाट निर्वाचित नवीन सिग्देल, महेश बर्तौला र हिदम लामा जस्ता नेताहरू आज सफल राजनीतिज्ञ बनेका छन्। यो हामी जस्ता नयाँ पुस्ताका लागि प्रेरणादायी हो," रेग्मीले भने।

अखिल क्रान्तिकारीका उम्मेदवारको समर्थन

अखिल क्रान्तिकारीका उम्मेदवार रामकृष्ण घोराईसैनी र बुद्ध बहादुर ब्रम्हुले रेग्मीलाई समर्थन जनाएका छन्।

"हामीबीच सैद्धान्तिक सहमति भएको छ। अब कुनै विमति छैन। हामी एकजुट भएर मकवानपुर बहुमुखी क्याम्पसको विकास र विद्यार्थी हकहितमा काम गर्नेछौँ," उनले बताए।

बिद्यार्थी किन रेग्मीलाई मत दिनुपर्छ?

रेग्मी भन्छन्, "हाम्रो इतिहास गौरवशाली छ। अनेरास्ववियु र नेबिसंघले संघर्ष गरेर स्ववियु पुनःस्थापना गरेका थिए। अहिले पनि हामी क्याम्पस प्रशासनलाई सही मार्गमा डोर्‍याउन एक भएका छौँ। हामी आश्वासन मात्र दिँदैनौँ, गर्न सकिने कुरामात्रै प्रतिबद्धता व्यक्त गर्छौँ।"

"स्ववियुलाई Student Parliament को रूपमा विकसित गर्दै विद्यार्थीको बौद्धिक चेतना अभिव्यक्त गर्ने प्लेटफर्म बनाउन चाहन्छौँ। प्रशासनलाई Advisor of Administration को रूपमा मार्गदर्शन दिनेछौँ। अनुसन्धानमा रुचि राख्ने विद्यार्थीका लागि अनुसन्धान छात्रवृत्ति उपलब्ध गराउन पहल गर्नेछौँ। देशभित्र र बाहिरका विश्वविद्यालयहरूसँग विद्यार्थी आदानप्रदान कार्यक्रम (Student Exchange Program) सञ्चालन गर्नेछौँ।"

"हाम्रो टिमसँग अनुभव, योजना र विद्यार्थीहरूको समर्थन छ। हामीलाई जिताउन सबै विद्यार्थी साथीहरूलाई विनम्र अनुरोध गर्दछु," रेग्मीले अन्त्यमा भने।

 

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?