भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामामाथि भ्रष्टाचारको आरोप लगाउँदै स्थानीयहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। उजुरीमा जनचासोका काममा ध्यान नदिई गैरकानुनी रूपमा आर्थिक फाइदा लिने गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ।
विशेष गरी, अध्यक्ष लामाले कान्तिलोकपथ अन्तर्गत पर्ने भीमफेदी गाउँपालिका–८, बागमती किनारमा मापदण्ड विपरीत आफ्नै भाइ नविन लामालाई क्रसर उद्योग सञ्चालन गर्न अनुमति दिएको उजुरीमा उल्लेख छ। नेपाल सरकारको नियमअनुसार राजमार्गको ५०० मिटर भित्र उत्खनन तथा क्रसर सञ्चालन गर्न नपाइने भए पनि, अध्यक्ष लामाको मिलोमतोमा १०० मिटरभित्रै क्रसर सञ्चालन भएको छ।
स्थानीयको दाबीअनुसार, उक्त क्रसरबाट उत्पादित सामग्री विभिन्न कम्पनीहरूको नाममा बिल काटेर राजस्व छल्ने काम भइरहेको छ। मुख्य रूपमा, गौतमल्याण्ड कन्स्ट्रक्सन प्रा.लि. को नाममा बिल काटी अकुत आर्थिक लाभ लिइएको आरोप छ। साथै, राष्ट्रिय गौरवको परियोजनामा प्रयोग गर्नुपर्ने सामग्री अन्य निर्माण कम्पनीहरूलाई बेचिएको, माण्डु हाइड्रोपावर निर्माणमा समेत अवैध रूपमा गिट्टी, बालुवा आपूर्ति गरिएको उल्लेख छ।
स्थानीय स्रोतका अनुसार, अध्यक्ष लामाले काठमाडौं उपत्यका र हेटौंडासम्म राजस्व छल्दै निर्माण सामग्री बिक्री गरेको पाइन्छ। राष्ट्रिय गौरवको फास्ट ट्र्याक परियोजनाका लागि स्टोर गरिएका निर्माण सामग्रीहरू कर छल्नकै लागि राखिएको आरोप पनि उजुरीमा समावेश छ।
यस विषयमा सम्बन्धित निकायहरूले छानबिन गरी दोषी प्रमाणित भए कानुनी कारबाही गर्नुपर्ने स्थानीयहरूको माग छ। अख्तियारले यस विषयमा छानबिन सुरु गरिसकेको जनाइएको छ।